साँच्चै सजिलो छ सोसल मिडियाबाट पैसा कमाउन ?

  • शम्भुप्रसाद ढुंगाना

नेपालमा सोसल मिडियाको प्रभाव पछिल्ला वर्षमा निकै बढेको छ । मोबाइल र इन्टरनेटको पहुँच गाउँ–गाउँसम्म पुगेपछि फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम अब केवल समय बिताउने माध्यम मात्र रहेनन्, धेरैका लागि आशा र सम्भावनाको ढोका बनेका छन् । दैनिक रूपमा देखिने भाइरल भिडियो, महँगो गाडी चढेका क्रिएटर, विदेश नगई नेपालमै बसेर कमाइ गरेका कथाले धेरै नेपाली युवालाई आकर्षित गरेको छ । तर, वास्तविकता भने फरक छ । सोसल मिडियाबाट कमाइ सम्भव छ, तर धैर्य, निरन्तरता र फरक सीप चाहिन्छ । गुणस्तरीय र स्पष्ट विषय, कन्टेन्टमा नियमितताले मात्रै आम्दानी गर्न सकिन्छ । जब धेरैले रुचाउन थाल्छन्, तब विज्ञापन वा डिजिटल सेवामार्फत पनि आम्दानी थप्न सकिन्छ । नक्कली फलोअर किन्नु, अरूको कन्टेन्ट नक्कल गर्नु र छिटो कमाइको भ्रम पाल्ने बानी परेपछि कमाइ होइन, समय मात्र बर्बाद हुन्छ ।

यति भन्दै गर्दा भर्खर सोसल मिडियामा काम गर्न थाल्नुभएका पाठक झस्किनुभएको हुन सक्छ, तर त्यस्तो होइन । माथि जे–जे भनिए पनि डिजिटल प्लेटर्फममा पैसा छ । तर, कसरी पाउने भन्ने मात्र हो । यही कारण धेरैको मनमा एउटै प्रश्न उब्जिएको छ, के सोसल मिडियाबाट पैसा कमाउन साँच्चै सजिलो छ, कि यो केवल रहर र भ्रम मात्रै हो ?

नेपालको सामाजिक र आर्थिक अवस्थाअनुसार यो आकर्षण स्वाभाविक देखिन्छ । रोजगारीको अभाव, कम तलब, विदेश जानुपर्ने बाध्यता र अनिश्चित भविष्यले युवाहरू नयाँ बाटो खोजिरहेका छन् । सोसल मिडियाले देखाएको चम्किलो तस्बिरले म पनि सक्छु भन्ने आत्मविश्वास त दिन्छ, तर त्यसपछाडिको संघर्ष, समय र मानसिक दबाब भने कमै देखाइन्छ । नेपाली समाजमा छिटो नतिजा चाहने प्रवृत्ति हाबी छ । लामो समयसम्म मिहिनेत गर्नुभन्दा चाँडै देखिने सफलताले धेरैलाई तान्नु स्वाभाविक हो । यही सोचका कारण सोसल मिडियालाई सजिलो कमाइको माध्यम ठान्ने भ्रम फैलिएको देखिन्छ ।

सोसल मिडियाबाट कमाउने सपना गलत होइन । तर, यसलाई जादुको छडी सम्झनु गलत हो । रहरले यात्रा सुरु गरे पनि वास्तविक मिहिनेतले मात्र सफल क्रिएटर बनाउँछ । जसले केवल देखिएको चमक पछ्याउँछ, ऊ छिट्टै थाक्छ । जो प्रक्रिया बुझेर, सिकेर र धैर्य गरेर अघि बढ्छ, उसकै लागि सोसल मिडिया वास्तविक अवसर हो ।

वास्तविकता के हो भने यो पनि एउटा पेसा हो, जसमा सीप, योजना, समय र निरन्तरता चाहिन्छ । धेरैले सोचेजस्तो एक–दुईवटा भिडियो बनाएर वा भाइरल भएर तुरुन्तै पैसा आउँदैन । त्यस्ता धेरै उदाहरण छन् कन्टेन्ट भाइरल त भयो तर कमाइ भएन ।

युट्युबमा मोनिटाइज हुन निश्चित मापदण्ड पूरा गर्नुपर्छ, टिकटक र इन्स्टाग्राममा ब्रान्डको ध्यानमा पर्न फलोअर मात्र होइन, विश्वसनीयता पनि चाहिन्छ । फेसबुकमा पनि त्यही ‘ट्रेन्ड’लाई फलो गर्नुपर्छ । यसबिच महिनौँ बिनाआम्दानी काम गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसमा पनि क्वालिटी, क्वान्टिटी र फरकपनलाई उत्तिकै मात्रामा टिकाइराख्नुपर्छ ।

सोसल मिडियाबाट पैसा कमाउने सपना देख्नु नराम्रो होइन, तर यसलाई जादुको छडी सम्झनु गलत हो ।

साँचो कमाइ त्यतिवेला सुरु हुन्छ, जब क्रिएटरले आफ्नो क्षमता स्पष्टसँग बुझ्छ । सबै एकैचोटि गर्न खोज्दा न त कन्टेन्ट राम्रो बन्छ, न दर्शक टिक्छन् । कसैले हास्यमा, कसैले शिक्षा, यात्रा, खाना, प्रविधि, सौन्दर्य वा प्रेरणामा आफ्नो पहिचान बनाउन सक्छन् । रुचि र क्षमतासँग मेल खाने विषयमा काम गर्दा कन्टेन्ट बनाउने यात्रा पनि बोझिलो हुँदैन । गुणस्तरीय कन्टेन्ट, स्पष्ट प्रस्तुति र दर्शक टिकाइरहने सोचले मात्र दीर्घकालीन सफलता ल्याउँछ ।

निरन्तरता सोसल मिडियाको सबैभन्दा ठुलो चुनौती र शक्ति दुवै हो । धेरै नेपाली सिर्जनाकर्ता केही साता वा महिनामा अपेक्षित नतिजा नदेख्दा निराश भएर छोड्छन् । तर, सफल भएका अधिकांशले लामो समयसम्म चुपचाप मिहिनेत गरेका हुन्छन् । अहिले एल्गोरिदमको चर्चा भइरहेका वेला एल्गोरिदमलाई स्पष्ट बुझ्न पनि जरुरी छ । एल्गोरिदमले पनि नियमित रूफमा कन्टेन्ट दिने, दर्शकसँग अन्तर्त्रिया गर्ने र समयसँगै सुधार देखाउने क्रिएटरलाई प्राथमिकतामा राख्छ । यही निरन्तरताबाट विश्वास जन्मिन्छ र विश्वासबाटै कमाइका ढोका खुल्छन् ।

समस्या समाधान गर्न पूरा गरिने चरण नै एल्गोरिदम हो । जसरी खाना पकाउन रेसिपी हुन्छ, त्यसैगरी कम्प्युटरले काम गर्न एल्गोरिदम चाहिन्छ । उदाहरणका लागि तपाईंले फोनबुकमा कसैको नाम खोज्दा कुन तरिकाले खोज्नुहुन्छ ? सम्झनुहोस् त, त्यही नै एउटा एल्गोरिदम हो । यसका विभिन्न चरण हुन्छन् ।

सोसल मिडियाबाट हुने आम्दानी केवल प्लेटफर्मले दिने पैसा मात्र होइन, ब्रान्ड प्रमोसन, मार्केटिङ, आफ्नै सेवा वा प्रोडक्ट बिक्री, अनलाइन कक्षा, परामर्शबाट पनि आम्दानी हुन्छ । भारतमा अमिताभ बच्चनले सोसल मिडियामा कुनै ब्रान्डको प्रचारमा एउटा पोस्ट गरेबापत करिब ६० लाखदेखि ८० लाख नेपाली रुपैयाँ र साहरूख खानले एक करोडदेखि एक करोड ६० लाख नेपाली रुपैयाँसम्म लिने बताइन्छ । तर, त्यस्तो हुन दर्शकले तपाईंलाई विश्वास गर्नुपर्छ । केवल भ्यु र लाइकभन्दा पनि तपाईंको सोच, बोली र इमानदारीले दीर्घकालीन मूल्यको मापन तय गर्छ ।

तर, धेरैले यहीँनेर गल्ती गर्छन् । सोसल मिडिया केवल भाइरल हुने खेल होइन, यो सम्बन्ध र भरोसाको प्लेटफर्म हो । नेपालमा केही समय भाइरल भएका तर अहिले गुमनाम मात्र होइन, आर्थिक अवस्थासमेत कमजोर भएका थुप्रै उदाहरण छन् ।

क्रिएटरमा धैर्य, अनुशासन र परिणाम देखाउने क्षमता आवश्यक हुन्छ । साथै, एल्गोरिदम, ट्रेन्ड, एडिटिङ र स्टोरी टेलिङ वा प्रेजेन्टेसन सिक्न तयार नहुने हो भने यो महासागरमा प्रतिस्पर्धा गरेर टिक्न गाह्रो पर्छ ।

सोसल मिडियाबाट कमाउने सपना गलत होइन । तर, यसलाई जादुको छडी सम्झनु गलत हो । रहरले यात्रा सुरु गरे पनि वास्तविक मिहिनेतले मात्र सफल क्रिएटर बनाउँछ । जसले केवल देखिएको चमक पछ्याउँछ, ऊ छिट्टै थाक्छ । जो प्रक्रिया बुझेर, सिकेर र धैर्य गरेर अघि बढ्छ, उसकै लागि सोसल मिडिया वास्तविक अवसर हो ।

सोसल मिडियाबाट पैसा कमाउन सजिलो छ कि छैन भन्ने प्रश्नभन्दा पनि तपाईं कति गम्भीर र दर्शकको रोजाइमा हुनुहुन्छ, तपाईंसँग वास्तविक क्षमता के छ भन्ने महत्वपूर्ण हुन्छ । तपाईं यसलाई दीर्घकालीन कामका रूपमा हेर्नुहुन्छ, निरन्तर सिक्न र आफैँलाई सुधार्न तयार हुनुहुन्छ भने यो रहर बिस्तारै तपाईंको बैंक खातामा पनि देखिन थाल्छ ।

(ढुंगाना लामो समयदेखि प्रविधि क्षेत्रमा कार्यरत छन्)

साभारः साँच्चै सजिलो छ सोसल मिडियाबाट पैसा कमाउन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *