लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

  • शम्भुप्रसाद ढुंगाना

टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ

भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ, त्यति नै प्रयोगकर्ताको मनोवैज्ञानिक स्वास्थ्य, समाज र वातावरणमा हानिकारक प्रभाव पनि पारेको छ । प्रयोगकर्ता र समाज टेक्नोलोजीबाहेक अरू केही नदेख्दा प्रविधि हानिकारक बन्न पुग्छ । प्रविधिले प्रयोगकर्तालाई अक्षमता, आत्मनियन्त्रण, दुव्र्यवहार, प्राविधिक केन्द्रवाद र वातावरणीय ह्रास ल्याउँछ भनेर विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

टेक्नोलोजीले मानिसले गर्न सक्ने काम गर्न थालेपछि प्रयोगकर्ता सीप सिक्न तथा जिज्ञासाहीन हुन जान्छ । यसबाट मान्छे अटोमेटेड हुन थाल्छ । निस्फिक्री विश्वास गर्न थाल्छ, प्रविधिलाई । सीपविहीन भई मान्छे प्रविधिको सेड्युलमा चल्छ । आत्मविश्वास त लगभग हराएरै जान्छ । उदाहरणमा क्याल्कुटेरलाई लिन सकिन्छ । दिमागलाई विश्वास गर्न छोडेर हामी क्याल्कुलेटरको विश्वास गर्न थालेका छौँ । यसले हामीलाई यान्त्रिक बनाएको छ ।

एउटा क्यामेराम्यान एआईको प्रयोग गर्न थाल्छ र समाजलाई ढाँट्छ कि यो फोटो आफैँले खिचेको हो । तर, वास्तविकता त्यस्तो नहुन सक्छ । टिकटक तथा ब्युटी प्लस क्यामेराको प्रयोग गरी सोसल मिडियामा सार्वजनिक गरिएका फोटो र वास्तविक अनुहारको फरकपनकै कारण धेरै मानिस डिप्रेसनमा गएका छन् ।

व्यक्तिबाट मेसिनमा सीमित सीप प्रवाह गर्न सकिन्छ । पूर्ण हस्तान्तरण असम्भव छ । एउटा अडियो क्यासेटमा जति गीत भरिएको छ, त्यति नै सुन्न सकिने हो, नभरिएको गीत सुन्न असम्भव छ । त्यस्तै, मेसिनमा पनि जति भरिएको छ, त्यति नै गर्छ । भुल्न नहुने कुरा के भने मेसिनमा भर्ने केही मान्छेको दिमागले हो, बाँकी सबै प्रयोगकर्ता मात्र हुन् । जसले मेसिनमा भर्न सक्छ, त्यो नै टेक्नोलोजीको दुनियाँमा बाँच्छ । उदाहरणका लागि, फेसबुकका मालिकले फलानो दिनसम्म आफ्नो प्रोफाइल फोटो नराख्नुहोला, नत्र अटोमेटिक तपाईंको फेसबुक डि–एक्टिभेट गर्छु भन्यो भने कसैको केही लाग्छ ? अनि भइएन त पालुवा ? एलन मस्कले ट्विटरमा भेरिफाइड अकाउन्ट बनाउन पैसा तिर्नुपर्ने नियम लगाए, जुन यसअघि थिएन ।

जुनसुकै तप्कामा भए पनि जब एकाधिकार हुन थाल्छ, त्यसको परिणाम गलत नै हुन्छ । हामीले प्रयोग गरिरहेको इमेल, सोसल मिडिया तथा अन्य प्रविधिको उद्देश्य भनेको विभिन्न सुविधाको लोभमा पैसा कमाउने धन्दा हो । इमेलले सुरुमा प्रयोगकर्तालाई बानी लगाउन २ जिबी स्पेस सित्तैमा दिन थाल्यो, प्रयोगकर्ता बढेसँगै बढाएर १६ जिबी सित्तैमा दिन सुरु गर्‍यो र त्यसपछि बल्ल सुरु भयो व्यापार । प्रयोगकर्तालाई लत लगाएर योभन्दा धेरै ठाउँ चाहिए पैसा तिर भन्न थाल्यो,के अब हामी मेसिनपालुवा भएनौँ ?

प्रविधिका पनि प्रकार छन् । केहीले पेपरलेस भन्दै ट्याब्लेट बिक्री गराउँछ, कलम र कागजको बजार चौपट पार्छ । अर्को आउँछ, औद्योगिक क्रान्ति भन्दै रोबोट बेच्छ, श्रमिकको रोजिरोटी खोस्छ ।

प्रयोगकर्तालाई प्रविधिले एउटा बटनमा सबै काम हुने भ्रम फैलाइदिन्छ । पुस नोटिफिकेसन पठाई जबरजस्ती डाउनलोड गर्न लगाउँछ र प्राविधिक धन्दा सुरु हुन्छ, डाउनलोड भएका एपमा विज्ञापन देखाएर । भर्खरै एप्पल कम्पनीले आइडीको पासवर्ड मागिरहेको छ, पासवर्ड सुरक्षाका निम्ति प्रयोग गरिन्छ । के एप्पलले पासवर्ड मागेर हाम्रो अकाउन्टलाई सुरक्षामा राख्यो त ? प्रविधि कम्पनीले जे चाह्यो, त्यही हुने अवस्थामा छ, अझ भनौँ केहीको मुठीमा छ, प्रविधि । प्रयोगकर्तालाई प्रविधिले कसरी काम गर्छ भन्ने कुरा हेक्का राख्ने समय नै हुँदैन, झल्याँस्स हुँदा त्यो प्रविधिको लत लागिसकेको हुन्छ ।

इन्टरनेटविनाको जीवन अकल्पनीय भइसकेको छ । यो समयको मान्छे घरपरिवार घुमाउन हिँड्दा पनि सकेसम्म वाइफाईको पासवर्ड खोज्छ । पाइएन भने मोबाइलको डाटा लिन थाल्छ । घुम्नको मजा लुट्न छोडेर, खानाको स्वाद लिन छोडेर फोटो पोस्ट्याउन व्याकुल हुन्छ । के यो प्रविधिले मेसिनपालुवा बनाएको होइन ?

टेक्नोलोजीले पक्कै पनि धेरै ठाउँका ढोका खोल्छ र सूचनाको पहुँचमा राख्छ, यसलाई नकार्न सकिँदैन । तर, यसले हामीलाई हाम्रो महत्वपूर्ण कामबाट विचलित गराइरहेको छ । हाम्रो दैनिकीमा प्रविधिको हस्तक्षेपलाई एकपटक विचार गरेर हेरौँ । सम्झनुहोस् त, फेसबुकमा जन्मदिनको शुभकामना, वर्षगाँठको शुभकामनालगायत भन्दै कति समय खर्च भयो ? मोबाइलको स्क्रिन नै पातलो हुने गरी टिकटक कति समय स्क्रोल गर्‍यौँ ?

उद्यममा प्रविधि मिसिनु आवश्यक छ, तर घोलिनु आवश्यक छैन । इन्टरनेटमा पनि खराबी छन् । त्यहीँ गौतम बुद्धको उपदेशदेखि वीरताको गाथा पढ्न र हेर्न पाइन्छ र त्यहीँ बन्दुक बनाउने तरिका पनि सिकाइन्छ । अहिलेको समाज बुद्धको उपदेशभन्दा बन्दुक बनाउन दौडिएको देखिन्छ ।

टिकटक लाइभमा बसेर पैसा कमाउने लोभमा युवायुवतीले आफूलाई नंग्याउँदै लगेका छन् । चिनियाँ प्रविधि उकालो लाग्यो भनेर इन्स्टाग्रामले रिल भन्दै अश्लील दृश्यलाई प्रसारण गरिरहेको छ । हामीलाई लत लगाइरहेको छ । लत लाग्छ अनि पैसा माग्छ, प्रविधिको लडाइँमा पनि हामी प्रयोगकर्ता फेरि अनायासै मेसिनपालुवा बनिसक्छौँ । प्रविधि र मानव फरक हो भन्नेमा निर्माण कम्पनीहरूले पनि हेक्का राख्न जरुरी छ ।

टेक्नोलोजीमा जब परनिर्भरता बढ्न थाल्छ, तब हामी कम उत्पादक हुन थाल्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेल्छ र व्यापार गर्छ । निर्माण कम्पनीहरूले चाहन्छन् नै यही, सजग त प्रयोगकर्ता नै हुनुपर्छ ।

साभारः लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *